ब्यक्ति/समाजका प्रेरक कथाहरु पस्कदै आएको ‘हेर्ने कथा’ले अगस्ट २४ मा एउटा भिडियो युट्युवमा सार्वजनिक गर्छ -‘हराएका वर्षहरु’ । भिडियोको चर्चा केही घण्टामै चुलिन्छ । सामाजिक सञ्जालहरुमा हेर्नैपर्ने ‘हेर्ने कथा’ भन्दै भिडियोको लिंकसहित सिफारिस हुन्छन् ।
भिडियोमा ‘काले’ अर्थात् ‘प्रकाश’को कथा छ । सन् १९९० तिर गलैंचा बुन्न भन्दै झापाबाट काठमाडौं हानिएको बालक कसरी गोरखाको चुम भ्याली पुग्यो ? चुम भ्याली पुगेर ‘प्रकाश’ भएको झापाको ‘काले’को परिवारिक विछोडपछिका दिनहरु कस्तो रह्यो ? परिवार कहाँ छन् ? परिवारको खोजी र परिवारिक मिलन कसरी भयो ? भिडियोमा समावेश छ ।
हेर्ने कथाले सार्वजनिक गरेको ‘हराएका वर्षहरु’ :
सोही भिडियो हेरेपछि प्रधानमन्त्री केपी ओलीले अगस्ट २७ मा आफ्नो फेसबुक पेजमा ‘मर्मस्पर्शी कथा’लाई दृश्यमा ल्यादिएकोमा टिमलाई धन्यवाद भन्दै पोष्ट गरे । प्रकाशको परिवारसँग मिलनको दृश्यले आँसु आएको उनको प्रतिक्रिया छ ।
प्रधानमन्त्री ओलीले लेखेका छन् ‘ हेर्ने कथाको पछिल्लो एपिसोड ’हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें – यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान्! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ’स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’
प्रधानमन्त्री ओलीको फेसबुक पोष्ट :
यसअघि अगस्ट २६ मा हेर्ने कथाको फेसबुक पेजमा प्रकाशलाई ‘हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?’ शिर्षकमा पोष्ट आएको थियो ।
सो अनुसार हेर्ने कथा टिम सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थिए – फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थिए । त्यहिँ भेटिएका थिए प्रकाश ।
परिवारसँगको मिलनपछि पुनः चुम भ्याली पुगेका प्रकाश पछि भ्याली छोडेर भोजपुर घरमै फर्किएको हेर्ने कथाको उक्त पोष्टमा उल्लेख छ ।
प्रकाश कहाँ के गर्दै होलान् भन्ने दर्शकको उत्सुकता पछि हेर्ने कथाले पोष्ट मार्फत प्रष्ट्याएको हो ।
भिडियो सार्वजनिक भइसकेपछिको पछिल्लो सम्पर्कमा प्रकाशले हेर्ने कथालाई भन्छन्, “ म दशैं मान्न पोहोर गाउँ गएँ । गाउँ जानेमा बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौंमा भएका छोराले ६० हजार । १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ । घरको अवस्था साह्रै नाजुक रहेछ । आफ्नो जग्गा जमिन खासै छैन । अँधियाका केही हल बारी छन् । बाउले गोरु किन्नु पर्छ भन्नु भयो । एक हल गोरु किनिदिएँ । कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ । बाउलाई औषधी र बैशाखी किनिदिएँ । चाडबाड मनाउँदा अलिअलि खर्च भयो । बाउलाई अहिले सन्चो छ ।
नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराई चाहिन्छ भने ।
पाँच–छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।
खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । बाउले फोन गरेर “गोरुले दुःख दियो छिटो आइज” भन्छ । दशैंमा फेरि भोजपुर जाने सोचेको छु । “
हेर्ने कथाको पोष्ट:
हेर्ने कथा टिमलाई धन्यवाद दिएका ओलीले भदौ १२ गते बिहान सोही विषयमा फेसबुकमा पोष्ट गरेका छन् । ओलीले लेखेका छन्, ‘ शुभ बिहानी !!
हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’
प्रधानमन्त्री ओलीको फेसबुक पोष्ट :






